लाहुरे गुरू

Full text. By गणेश राई, 2005. Appeared in कान्तीपुर कोसेली, 12 March 2005.

७२ बर्षको उमेरमा वाम्बुले राई भाषा लपिबिद्ध गरेर गुन लगाएका थिए हिलेपानी अाखलढुंङ्ाका चन्द्रबहादुर राईले ।

बैंस छँदा पल्टनियाँ रेकरूटका गुरूजी थिए - कर्पोरल चान्द्रबहादुर राई । बहत्तर बर्षको उमेरमा उनी प्राज्ञिक गुरू बने । निबृत्त जीवनमा पनि उत्तिकै तीखो मस्तिष्कलाई मातृभाषा र संस्कृतिप्रतिमा लगानी गरे । लेइडन युनिभर्सिटी अफ नेदरल्यान्डस्, हल्यान्डका एक भाषावैज्ञानिक युवकलाई बिद्यावारिधीका लागि डोरयाउन सफल भए । त्यो हो, वाम्बुले राई भाषा ।

खोलापिच्छे फरक भाषा बोल्छन् किराँत राईहरू । राई जातिको भेषभूषा, रहनसहन, संस्कार र संस्कृति प्राय: मिल्दोजुल्दो हुन्छ । तर भाषा मिल्दैन । त्यसमध्येकै एक हो वाम्बुले । ०४० को दशकअघि थियो यो भाषा ।

सन् १८५७ मा अन्वेषक ब्राएन हफ्टन हड्सनले आफ्नो खोजमा ‘चैरास्या’ राई भाषाको करिब तीन सय शब्द टिपेका थिए । त्यसपछि त्यसबारे कतै चर्चा भएन । त्यही लोपोन्मुख भाषाबारे खोज अन्वेषण गर्ने लेइडन विश्वविद्यालयले एक छात्र खटायो । उनी थिए जन रब्यार अप्खन्वार्त । १९९६ मा ‘चौरास्या’ भाषा खोज्न नेपाल पासे उनी । भाषी सोध्दै खोज्दै गाउँ छिरे । ‘चौसास्या’ भिनए पिन स्वभाषी आफूलाई ‘वाम्बुले’ भनेर चिनाउँदैआएको छन् । धेरै अंग्रेजी र थोरै नेपालीको ज्ञान राख्ने ती बिदेशी हिलेपानी टेके । मातृभाषामात्र बोल्ने गाउँमा उनका बोली कसैले बुझैनन् । तिनले के बोलेको - के खोजेको ? गाउँले अलमल्लमा परेका बेला बूढापाकाले झट्ट सम्झे - अग्रेजी बोल्ने जान्ने मान्छे । अनि सिरानटोलमा चान्द्रबहादुरको घर पठाए ।

गाउँलेको भावनाअनुकूल चान्द्रबहादुरले भनिदिए, ‘यो बिदेशी त हाम्रो भाषा सिक्न पो आएका रे । ‘त्यसै दिनबाट ती बिदेशीले गुरू थापे उनलाई त्यही बेलादेखि उनलाई मातृभाषा, संस्कृतिबारे जानकारीमात्र दिएनन् गुरूले न्वारानसमेत गरिदिए । नाम राखिदिए - ज्ञानबहादुर । त्यसपछि यी गुरू-चेला एकापसलाई बाबु-छोरा साइनोले सम्बोधन गर्थे । बिडम्बना ! गएको माघ १७ मा यी लाहुरे गुरूले सधैका लागि यो धर्ती छोडे ।

‘सेवा निबृत्त म बूढोलाई काम नभएर के गरुँ, कसो गरुँ भइरहेको बेला ऊ टुप्लुक्क आइपुग्यो’, केही पहिले उनले पक्तिकारसँग भनेको थिए ‘के खोज्छस् कानो आँखा पो भयो ।’ बुढेसकालमा मातृभाषा, संस्कृति र संस्कारबारे जानकारी बाँड्न पाएकामा ढुक्क थिए उनी ।

दुई वर्षभन्दा बढी हिलेपानीलगायत राई वस्तीमा बिताएको भाषा वेज्ञानिक अप्खन्वार्तले २००२ मा वाम्बुले भाषा बिद्यावारिधी हासिल गरे । उनले हालसम्म यही भाषामा ‘वाम्बुले भाषा’ शोधग्रन्थ र ‘वाम्बुले व्याकरण’ लेखिसकेका छन् । बेला मौकामा नेपाली घर-परिबार, बाबु-आमाको सम्झनामा चिठी, सौदा पठाइरहन्छन् अप्खन्वार्तलाई फेरि एकचोटि भेट्ने रहर पूरा नहुँदै चान्द्रबहादुर बिते । १९८९ साल असारमा हिलेपानी गाउँमा जन्मिएका चान्द्रबहादुर २२ वर्षको उमेरमा ब्रिटिस गोर्खामा भर्ती भएका थिए । उनका छोरामात्र होइन, यतिखर नातिसमेत बेलायती सेनामै छन् ।